पुलिसद्वारा थ्रीस्टार स्तब्ध, लिगमा दोस्रो हुने अभियानमा थ्रीस्टारलाई धक्का

काठमाडौं, १३ पुस । शहीद स्मारक ए डिभिजन लिगको दोस्रो खेलमा थ्रीस्टार क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ३-१ ले स्तब्ध बनायो । यो पराजयसँगै थ्रीस्टारको लिगमा दोस्रो हुने अभियानमा धक्का लागेको छ ।

थ्रीस्टारले सुरुवाती अग्रता जोगाउन सकेन । १२ औं मिनेटमा विदेशी खेलाडी अल्बर्टको गोल मार्फत थ्रीस्टारले अग्रता बनायो । तर २० औं मिनेटमा नीरकुमार राईको गोल मार्फत पुलिसले खेल बराबरी गर्‍यो । पहिलो हाफ गोलरहित बनेको खेलको दोस्रो हाफमा पुलिसले थ्रीस्टारको पोस्टमा दुई गाेल हान्यो ।

४७ औं मिनेटमा थ्रिस्टारका विजय धिमालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई पुलिसका अभिशेक रिजालले गोलमा परिणत गरे । त्यसपछि ५५ औं मिनेटमा पुलिसका कप्तान भोला सिलवालले थ्रिस्टारको डिफेन्स र गोलकिपरलाई विट गर्दै उत्कृष्ट गोल गरे ।

खेलको ८६ औं मिनेटमा थ्रिस्टारले पेनाल्टीको अवसर पाएको थियो । तर रञ्जित धिमालको प्रहार पुलिसका गोलकिपरले बचाए । त्यसपछि थ्रिस्टार खेलमा फर्कन सकेन र पराजित भयो ।

जारी लिगमा थ्रीस्टारको यो दोस्रो हार हो । लिगमा पुलिसले थ्रीस्टारलाई हराएको सात वर्षमा पहिलो पटक हो । हारपछि थ्रीस्टार २३ अंक सहित तेस्रो स्थानमा यथावत छ भने पुलिस १८ अंक बनाउँदै पाँचाैं स्थानमा उक्लिएको छ ।

आजै भएको पहिलो खेलमा आर्मीले सरस्वती क्लबलाई ४-० ले हरायो । जितसँगै आर्मीले ११ खेलबाट २१ अंक बनाएको छ ।

shares