सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन हुँदा १९ जनाको मृत्यु

खार्तुम, १३ पुस । उत्तर अफ्रिकी राष्ट्र सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । तर मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेशनलले भने मृत्यु हुनेको संख्या ३७ पुगेको जनाएको छ ।

सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए ।  मूल्यवृद्धिको विरोधमा सुडानमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।

गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कर्फ्युसमेत लगाइएको थियो । यद्यपि सुडान सरकारलाई इजिप्टले सहयोगको वचन दिएपनि प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गरेका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन्  भने डाक्टर र पत्रकारहरूले पनि समर्थन जनाइरहेका छन् ।

shares