सरकारकै कारण मेलम्ची आयोजनाको ठेकेदार कम्पनी भागेको कांग्रेसको आरोप

काठमाडौं, १३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी काम छोडेर भागेको आरोप लगाएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सरोकारवाला मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दाबी गरे ।

विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको भन्दै उनले सरकारलाई इमान्दारीता र पारदर्शीता देखाउन चुनौति दिए ।

सत्तारुढ दलकै सांसदले पनि मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसंग माग गरेका छन् ।

बैठकमा नेकपाका बलरामप्रसाद बास्कोटाले प्रतिपक्षी दल झस्कने अवस्था नरहेको भन्दै हल्लाको भरमा नहिड्न सुझाव दिए । उनले संसदीय सत्तापक्ष एक्लै र प्रतिपक्षी अर्को भन्ने नभएको भन्दै समाजवाद उन्मुख बाटोमा प्रणका साथ अघि बढ्न आग्रह गरे ।

त्यसैगरी नेपाली कांग्रेसका जीवन बुढाले कालिकोटको पलातामा भएको भीषण आगलागीको घटनाप्रति गम्भीरता देखाएर पुर्निर्माणको घोषणा गर्न सरकारसंग माग गरे ।

shares