नेकपा बैठक: राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डकाे राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान बसेको स्थायी कमिटी बैठकमा नेताहरूले राखेकाे विचार र सुझावहरूलाई समेटेर परिमार्जनसहित राजनीतिक प्रतिवेदन पारित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले नेताहरूको सुझावलाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

बैठकले पार्टी संगठनहरूको एकीकरणको काम पुस मसान्तभित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्य दल गठन गरिएको छ ।

कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रघुबीर महासेठ सदस्य छन् ।

कार्यदलले दिएको सुझावलाई स्थायी कमिटीले अनुमोदन गरेपछि पार्टी एकीकरणको कामलाई पूर्णता दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

मंसिर २९ गते सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्‍याउन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

shares