ए डिभिजन लीगमा आज ११ औं चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं, १३ पुस । शहीद स्मारक ए डिभिजन लीगमा आज ११ औं चरणका अन्तिम दुई खेल हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र सरस्वती युथ क्लबबीच खेल हुनेछ । १० खेलमा ५ खेल जित्दै १८ अंकसहित आर्मी तालिकाको चौथो स्थानमा रहँदा समान १० खेल खेल्दै तीन खेल मात्र जितेको सरस्वती तालितकाको दशौं स्थानमा रहेको छ ।

यस्तै दिउँसो साढे २ बजे हुने दोस्रो खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेलमा जित हात पारे थ्रीस्टारलाई तालिकाको दोस्रो रहँदै लीग टुङ्ग्याउने अवसर छ ।

दश खेल खेलेको थ्रिस्टार २३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदा समान खेल खेलेको पुलिस १५ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।

हिजो भएको खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लबलाई ३-१ गोलले पराजित गरी उपाधि पक्का गरेको छ । रेलिगसेन बिनाको लिगमा ११ खेलको समाप्तिमा शीर्ष स्थानको मनाङको ३३ अंक छ । २५ अंक रहेको संकटाले अन्तिम २ खेल जिते पनि अब मनाङलाई भेट्ने छैन ।

shares