इराकमा राष्ट्रपति ट्रम्पको आकस्मिक भ्रमणको आलोचना सुरु

बगदाद, १२ पुस । इराकमा तैनाथ आफ्ना सेनाहरूलाई अचम्मित पार्दै क्रिसमसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिना पूर्व जानकारी इराकस्थित अमेरिकी सैनिक शिविरमा पुगेपछि इराकमा आलोचना सुरु भएको छ ।

इराकका राजनीतिक दलका नेताका साथै लडाकु नेताहरूले पनि ट्रम्पको उक्त कदमले इराकको सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै आलोचना गरेका छन् । इस्लाह संसदीय ब्लकका नेता सबाह अल सादीले ट्रम्पको उक्त कदमले इराकको सार्वभौमसत्ताको उल्लंघन भएको भन्दै त्यसमाथि छलफल गर्न संसदको आकस्मिक बैठक नै डाके ।

बैठकमा उनले इराकमाथिको अमेरिकी नियन्त्रण सकिसकेको भन्दै ट्रम्पले आफ्नो सीमा जान्नुपर्ने बताए । सिया नेता मुक्तादा अल सादरको नेतृत्वको इस्लाहले सन् २००३ देखि नै इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएको छ ।

इराकका तानाशाह सद्दाम हुस्सैनको आतंकवादी संगठन अल कायदासँग सम्बन्ध भएको र इराकमा आम विनासकारी हतियार लुकाएको आरोप लगाउँदै अमेरिकाले सन् २००३ मा इराकमाथि हस्तक्षेप गरेको थियो । संसदमा इस्लाहको प्रतिपक्षी बीना ब्लकले पनि ट्रम्पको उक्त कदमप्रति आपत्ति जनाएको छ ।

लडाकु नेता हादी अल अमिरिको नेतृत्वको बीना ब्लकले विज्ञप्ति जारी गर्दै ट्रम्पको भ्रमणले कुटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै खेद प्रकट गरेको छ । ट्रम्पले इराकमा ३ घण्टा लामो समय बिताएको भएता पनि उनको कुनै पनि इराकी अधिकारीहरुसँग भेट भएन ।

ट्रम्प र इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीको भेटको पूर्व निर्धारित कार्यक्रम पनि सहमति जुट्न नसकेको कारण अन्तिम समयमा रद्द गरिएको थियो ।

shares