पार्टीको वर्तमान नेतृत्व स्वीकार छैन: नेता सिटौला

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीमा विवाद अन्त्य र शीर्ष नेताहरूबीच एकताको सन्देश दिएको भन्दै पार्टीले रात्री भोज गरिरहेको बेला नेता कृष्णप्रसाद सिटौलाले भने अहिलेको नेतृत्वलाई अस्वीकार गर्ने बताएका छन् ।

काठमाण्डौमा आज पत्रकारसँगको भेटघाटमा नेता सिटौलाले पार्टी सभापति, वरिष्ठ नेतासहित पदाधिकारीलाई आफूले स्वीकारे पनि नेतृत्वको रूपमा स्वीकार्न नसक्ने बताए ।

गत महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँगै प्रत्याशी बनेका पूर्वमहामन्त्री सिटौलाले १४ औं महाधिवेशनमा आफूहरूले बेग्लै समूह बनाउने संकेत पनि गरे ।

कार्यक्रममा सिटौलासँगै उपस्थित भएका नेता गगन थापाले गुटरहित र समूहरहित पार्टीको कल्पना गर्नु हावादारी कुरा भएको बताए ।

थापाले नेताहरूले हातेमालो गरेर हात हल्लाउँदैमा पार्टी एक हुन नसक्ने बताए । केन्द्रीय सदस्य उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईंले एक वर्षभित्र महाधिवेशन गर्न माग गरे ।

shares