एपीएफ र च्यासलको खेल बराबरीमा सकियो

काठमाडौं, १२ पुस । राजधानीमा जारी ए डिभिजन लिगमा एपीएफ र च्यासल युथ क्लबबीचको खेल एक एक गोलको बराबरीमा सकिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै एक एक अंक बाँडेका छन् । खेलको सुरुवातदेखि दबाबमा खेलेपनि च्यासलले अग्रता बनायो ।

एपीएफका गोलरक्षक राजु योगी पोजिसनमा नभएको अवस्थामा सन्तबहादुर गुरुङले पेनाल्टी क्षेत्रभित्र रिबाउन्समा पाएको बल सहजै गोल गरे । पहिलो हाफको अन्तिममा एपिएफले बराबरी गर्ने राम्रो मौका गुमायो ।

एपीएफका सुदिप सिख्राकारको पेनाल्टी च्यासलका गोलरक्षक दिनेश थापामगरले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा एक गोलले पछि परेको एपीएफ दोस्रो हाफमा खेलमा फर्कियो ।

एपीएफका श्याम कुमार नेपालीले लामो दुरीबाट प्रहारको गरेका बल गोलमा परिणत भएपछि एपीएफले खेल बराबरी गरेको हो । खेलको ७७ औं मिनेटमा गौरभ बुढाथोकी दोहोरो पहेंलो कार्ड खाँदै मैदान छोडेपछि च्यासल १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि बाँकी समयमा कुनै गोल हुन सकेन र दुवै टोलीले अंक बाँड्न बाध्य भयो ।

लिगमा आजै अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका मनाङ मस्र्या्ङदी क्लब र क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । शत प्रतिशत जित निकालेको मनाङले ३० अंक जोडेको छ । यता संकटाले खेलेका १० खेल मध्ये ८ जित, १ बराबरी र १ हारसहित २५ अंक जोडेको छ ।

आजको खेलमा जित हात पार्न सके मनाङले दुई खेल अघिनै लिगको उपाधि जित्ने पक्का छ । यता मनाङलाई हराउन सके संकटाले पनि उपाधि जित्ने सम्भावना जिवितै राख्ने छ ।

shares