लेस्टर सिटीसँग म्यान्चेष्टर सिटी स्तब्ध

काठमाडौं, १२ पुस । इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग पराजित भएको सिटी बक्सिङ डेमा लेस्टर सिटीसँग स्तब्ध बन्यो । १० खेलाडीमा सिमित भएको सिटीलाई लेस्टरले २–१ ले हरायो ।

लेस्टरको मैदानमा भएको खेलमा म्यान्चेष्टर सिटीले खेलको १४औं मिनेटमै बर्नार्डो सिल्भाको गोल मार्फत अग्रता बनाएपनि घरेलु टिमले दुई गोल फर्कायो ।

१८औं मिनेटमा जेमी भार्डीका पासमा मार्क अल्ब्राइटले हेडर गोल गर्दै खेल बराबरीमा पुर्‍याए भने ८१औं मिनेटमा लेस्टरका रिकार्डो परेराले गोल गर्दै टिमलाई जित दिलाए ।

यता लिभरपुलले भने न्यूक्यासल युनाइटेडविरुद्ध ४–० को जित निकालेको छ । जितसँगै लिभरपुलले लिगको आधा समयमा आइपुग्दा ६ अंकको अग्रता लिएको छ ।

एन्फिल्डमा भएको खेलमा लिभरपुलको जीतमा डेजान लोभ्रेन, मोहम्मद सलाह, जेर्दन शाकिरी र फाविन्होले एक एक गोल गरे । बर्नमाउथलाई ५-० ले हराउँदै टोटनह्याम भने दोस्रो स्थानमा उक्लिएको छ ।

बर्नमाउथलाई हराउनका लागि सन ह्योङ मिनले दुई गोल गर्दा क्रिष्टियन इरिक्सन, ह्यारी कने र लुकास मोउराले एक एक गोल गरे । लिगको आधा खेल सकिँदा माउरिसियो पोचेटिन्होको टिम टोटनह्यामले तालिकामा ४५ अंक बनाएको छ ।

गएराती भएको अन्य खेलमा म्यान्चेष्टर युनाइटेडले हडर्सफिल्ड टाउनलाई ३-१ ले हरायाे भने चेल्सीले वाट्फोर्डलाई २-१ ले हरायो । आर्सनल भने ब्राइटन एण्ड हाेभ अल्बियोनसँग १-१ गोलको बराबरीमा रोकिएको छ । जितसँगै चेल्सी चौथो स्थानमा उक्लिएको छ ।

shares