कर्मचारी समायोजन अध्यादेशमा कमजाेरी देखिए सच्चाउनुपर्छ: प्रचण्ड

काठमाडौं, ११ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी समायोजन अध्यादेशमा कमजाेरी देखिए सच्चाउनुपर्ने बताएका छन् ।

अध्यादेशकाे विराेधमा कर्मचारी स‌ंघ स‌ंगठनले विराेध जनाइरहेका बेला अध्यक्ष प्रचण्डकाे भनाइ सार्वजनिक भएकाे हाे । पहिलो पटक आज संसदीय समितिको बैठकमा सहभागी भएका प्रचण्डले कर्मचारी समायोजन अध्यादेशमाथिको छलफलमा भाग लिँदै कमजोरी भए सच्चाएर अघि बढनुपर्ने बताए ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रदेश र स्थानीय तहमा बढी अधिकार दिनुपर्ने भएकाले सोही अनुसार कर्मचारी समायोजन अघि बढाउनुपर्ने बताए । उनले अब बैठकमा नियमित रूपमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे ।

बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीको गुनासो सम्बोधन गरेर मात्रै अध्यादेश अघि बढाउन आग्रह गरे ।

समितिको बैठकमा सांसदहरूले समायोजनको नाममा कर्मचारीको वृत्ति विकासमा प्रतिकूल प्रभाव पार्ने काम गर्न नहुने भन्दै सरकारकाे ध्यानाकर्षण गराएका थिए ।

shares