एन्फा विवाद: मानार्थ अध्यक्ष टासी घलेसँगको कुराकानीको अडियो टेप सार्वजनिक

काठमाडौं, ११ पुस । अखिल नेपाल फुटबल संघ एन्फाको वर्तमान नेतृत्व चयन गर्दा आर्थिक अनियमितता गरेको भन्दै चारवटा जिल्ला फुटबल संघका अध्यक्षहरूले अडियो टेप सार्वजनिक गरेका छन् ।

चारवटा जिल्ला फुटबल संघका अध्यक्षहरूले मानार्थ अध्यक्ष टासी घलेसँगको कुराकानीको अडियो टेप सार्वजनिक गर्दै वर्तमान नेतृत्वले निर्वाचनका क्रममा अनियमितता गरेको आरोप लगाएका हुन् ।

अडियो टेपमा मानार्थ अध्यक्ष टासी घलेले धनुषा जिल्ला फुटबल संघका अध्यक्ष दिपक खाती, बी डिभिजन क्लबका प्रतिनिधि मधुसुदन उपाध्याय, हालका महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्रमान जोशी र केन्द्रिय सदस्य दावा लामासँगको कुराकानीका अंश समावेश छ ।

पत्रकार सम्मेलनमा काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजखु, धादिङ्का अध्यक्ष दिपक खतिवडा र ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा उपस्थित थिए । उनीहरूले निर्वाचन समिति र अदालतलाई आर्थिक प्रलोभनमा पारेको, मतदाता प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको, निर्वाचन अगाडि प्रतिनिधि विदेश घुमाउन रकम खर्च गरेको र निर्वाचन समितिका सदस्यलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा उनीहरूले गत बैशाख २२ गते भएको एन्फाको निर्वाचनका बेला फिफा, एएफसी र नेपालको कानून उलंघन भएको दाबी गरेका थिए । उनीहरूले यस्ता गतिविधिमा अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष पंकज विक्रम नेम्वाङको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन् । उनीहरूले यो अडियो टेपलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीमा पठाउने जानकारी दिए ।

shares