स्वास्थ्य मन्त्रालय नै अस्वस्थ (भिडियोसहित)

कमला गुरुङ

मुलुककाे महत्वपूर्ण निकायमध्ये स्वास्थ्य क्षेत्र अहिले आफैँ थला परेकाे छ । संघीयता कार्यान्वयनमा चुनाैति देखिएका बेला नेतृत्वबीचकाे टकरावले स्वास्थ्य क्षेत्र धरासायी बन्दै गएकाे छ । दुई सचिवबीचकाे झगडाले यतिखेर स्वास्थ्य मन्त्रालयकाे बेथितिलाई उजागर गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सचिवकाे कुर्सी म्युजिकल चियरभन्दा फरक छैन । यसअघि अर्थ मन्त्रालय बाहेक अरु मन्त्रालयमा एक जना मात्र सचिव हुने गरेको भए पनि यतिबेला स्वास्थ्य मन्त्रालयमा दुई सचिव छन्, डा. पुष्पा चाैधरी र केदारबहादुर अधिकारी ।

” कार्य बाँडफाँड, जिम्मेवारिकाे हिसाबले सरकारले दिनुपर्छ ”, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले भने, ” तर अहिले भने दुई सचिवकालाई बस्नकाे लागि छुट्टा-छुट्टै व्यवस्था मिलाइएकाे छ । ”

गत असाेज २८ मा सरकारले मन्त्रालयकी सचिव डा. पुष्पा चाैधरीलाई प्रधानमन्त्री कार्यालयमा सार्ने निर्णय गर्‍यो । सरुवाको निर्णयविरुद्ध कार्तिक १५ मा डा. चाैधरी सर्वाेच्च अदालत पुगिन् । त्यसकाे भाेलिपल्टै सर्वाेच्चले निर्णय कार्यान्वयन नगराउन सरकारकाे नाममा अन्तरिक आदेश दियाे । डा. चाैधरी अदालतकाे आदेश लिएर मन्त्रालयमा पुगिन् । तर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मंसिर २४ मा स्वास्थ्य सचिवका रूपमा केदारबहादुर अधिकारीलाई नियुक्त गरे ।

सर्वाेच्च अदालतले गत शुक्रवार डा. चाैधरीलाई नै स्वास्थ्य मन्त्रालयको सचिवकाे जिम्मेवारी दिन सरकारलाई आदेश दिएको छ । त्यसपछि सरकारले स्वास्थ्यकाे प्राविधिक सचिवकाे रूपमा चाैधरी र जनसंख्या र प्रशासनकाे जिम्मेवारी अधिकारीलाई दिने तयारी गरेकाे छ । दुई वटा सचिव भए मन्त्रायलकाे काम सहज हुने प्रवक्ता श्रेष्ठले बताए । भन्छन्, ” दुई सचिव भए त झन् मन्त्रालयकाे काम सहज हुन्छ । तर कार्य बाँडफाँड, कार्यबाेझ कसरी हुन्छ भन्नेमा पनि फरक पर्छ ।”

प्रवक्ताले काम गर्न सहज हुन्छ भने पनि मन्त्रालयका अरु कर्मचारीले सहज देखेका छैनन् । एउटै जिम्मेवारीमा रहेकाले चाैधरी र अधिकारीबीच व्यक्तिगत रिसइवीसमेत उत्पन्न भएको छ । र चिकित्सकहरूले त आफ्नै क्षेत्रको व्यक्ति सचिव हुनु पर्ने माग गरेर आन्दोलन नै थालेका छन् ।

नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघले मन्त्रालयका प्रशासनकाे नभई स्वास्थ्य क्षेत्रकै सचिव हुनुपर्ने माग गरेका छन् । सरकारी चिकित्सक संघले साेमबार वीर अस्पतालमा दबाबमूलक कार्यक्रम नै गरे । संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे भन्छन्, ” अन्य क्षेत्रकाे सचिव हामीलाई स्वीकार्य छैन । याे गैरकानुनी छ । यदी सरकारले मन्त्रालयमा स्वास्थ्य क्षेत्रकै सचिव नियुक्त नगरे हामी अर्काे आन्दाेलनका कार्यक्रम गर्न बाध्य हुनेछाैं । ”

देश संघीयताको चरणामा छ । यो बेला स्वास्थ्य मन्त्रालय आँफै अस्वस्थ हुँदा स्वास्थ्य क्षेत्र झन् धरासायी बन्दै जाने चिन्ता थपिएको छ । त्यसैले नेतृत्वबीचकाे टकरावले स्वास्थ्य क्षेत्रमा असर पर्न दिनुभन्दा छिट्टै निकास खाेज्नु आवश्यक देखिन्छ । ( तस्वीर: विनोद थापा )

हेर्नुहोस् भिडियो-

shares