नेकपा बैठक: फरक मत समेट्न कार्यदल गठन गरेर अघि बढ्नुपर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा उठेका फरक मत र विचार समेट्न कार्यदल गठन गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन माथी उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष दाहालले पार्टी एकताका बाँकी कामसमेत कार्यदलले सम्मपन्न गर्ने धारणा राख्नु भएको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टीले सरकार चलाउने हो सरकारले पार्टी चलाउने होइन भन्दै त्यसलाई सुधार्नु पर्ने धारणा राखेका थिए । उनले सरकारको कामलाई जन अपेक्षित बनाउन पार्टीले सहयोग गर्नु पर्ने तर्क गर्नु भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

नेकपाको बिहीबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए ।

राजनीतिक प्रतिवेदनको पूर्व एमालेभित्र पनि माधव नेपाल पक्षधर नेताहरूले आलोचना गरेका छन् । त्यस्तै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि प्रतिवेदन पुनर्लेखनको पक्षमा छन् ।

पूर्व एमालेभित्रको केपी ओली पक्षका नेताहरूले प्रतिवेदनका साथै सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन् । पूर्व माओवादीभित्र प्रचण्ड र रामबहादुर थापा निकट नेताहरूले पनि राजनीतिक प्रतिवेदनमा सुधार र सरकारको कामबारे प्रश्न उठाए पनि उनीहरू नेतृत्वको बचाउमा उभिएका छन् ।

shares