काठमाडौंमा आज वर्षकै सबैभन्दा चिसो

काठमाडौं, ११ पुस । काठमाडौं उपत्यकामा आज यस वर्षको सबैभन्दा बढी चिसो महसूस गरिएको छ ।

मौसम विज्ञान विभागले आज विहान गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस छ । विभागका अनुसार यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

मौसमविद मिनकुमार अर्यालका अनुसार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको तापक्रम ८ बजेर ४५ मिनेटमा घटेर १ दशमलव ५ मा पुगेको हो ।

जुम्लामा भने सबैभन्दा चिसो छ । त्यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । डडेलधुराको शुन्य दशमलव ७ र दिपायलको १ दशमलव ८ डिग्री सेल्सियस तापक्रम छ ।

हिउँदे वर्षा भयो भने काठमाडौं उपत्यकाको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । तर, तत्काल त्यस्तो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

यसअघि सन् १९७८ मा काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झरेको थियो । त्यसपछि काठमाडौंमा शून्यभन्दा तल झरेको रेकर्ड छैन । देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

अन्य स्थानहरुमा मौसम सामान्यतया सफा छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार दिउँसो भने पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिए ।

shares