मेलम्ची आयोजनाको ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने सरकारको तयारी

काठमाडौं, १० पुस । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार ईटालियन कम्पनी सीएमसीको धरौटी जफत गर्ने तयारी गरेको छ ।

काम छोडेर ईटालियन कम्पनी भाग्न खोजेपछि सरकारले यस्तो तयारी गरेको हो । सकेसम्म उसलाई मनाएरै निर्धारित मितिमै पानी आउने गरी काममा लगाउने र नमानेको खण्डमा धरौटी जफत गर्ने खानेपानी मन्त्री विना मगरले जानकारी दिइन् ।

संसदको अर्थ समितिमा बोल्दै मन्त्री मगरले ठेकेदारलाई काम गरेको रकम भुक्तानी गर्न बाँकी रहेकोले ठेक्का तोडे पनि सरकारलाई घाटा नलाग्ने दाबी गरिन् । ठेकेदार कम्पनी सीएमसीका माग नेपाल सरकारको नियमभन्दा बाहिर गएर पूरा नगर्ने समेत उनले बताइन् ।

मन्त्री मगरका अनुसार मेलम्चीको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सीएमसीले हात झिकेको अवस्थामा मन्त्रालयले छिटो बाटोको विधिमार्फत् अरु कुनै कम्पनीलाई काम दिएर भए पनि मेलम्ची आयोजनाको काम समयमै सक्ने उनले बताइन् ।

तर मन्त्री मगरले त्यस्तो कम्पनी नेपाली वा विदेशी कस्ता हुन सक्छन् भन्ने चाहीं खुलाइनन् । खानेपानी आयोजनाको सुरुङको फिनिसिङ लगायतका पाँचवटा काम मात्र बाँकी रहेका छन् ।

shares