१२ दिने ‘वक द टक फिल्ड कन्फ्रेन्स’ सम्पन्न

सोलुखुम्बु, १० पुस । नेपाल जियोग्राफिकल सोसाइटी, काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन र हिमालयन रिसर्च सेन्टरको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा १२ दिने ‘वक द टक फिल्ड कन्फ्रेन्स’ सम्पन्न भएको छ ।

यही मंसिर २३ गते देखि पुस ६ गतेसम्म सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका फाकदिंग, नाम्चेबजार, डिङम्बोचे, ट्याङबोचे र लुक्लामा उक्त फिल्ड कन्फ्रेन्स आयोजना गरिएको थियो । जलवायु परिवर्तनले हिमाल, हिमाली क्षेत्र, बाढी पहिरो तथा भुकम्प अगाडि र पछाडिको प्रभावलगायत विषयमा खोज कार्य तथा स्थानीयवासीहरूसँग अन्तर्क्रिया गरेको थियो ।

कुनै पनि क्षेत्रको विषयमा स्थानीय सरोकारवाला समुदाय र खोजकर्ताहरूबीचको प्रत्यक्ष सहभागिता र अन्तर्क्रियाबाट परिणाम खोज्ने कार्य यो नेपालमा पहिलो भएको द हिमालयन रिसर्च सेन्टरका प्रवन्धक डा. धनञ्जय रेग्मीले जानकारी दिए । यस किसिमको सहभागीतामुलक अन्तर्क्रियाबाट आगामी दिनमा खुम्बु क्षेत्रको विकासको योजना निर्माण गर्न आवश्यक व्यवहारिक सुझाव पेश गरिएको समेत उनले जानकारी दिए ।

हिमाली क्षेत्रमा रहेका ‘ग्लेसियर’को अहिलेको अवस्था तथा खुम्बु क्षेत्रको अवस्थाका बारेमा अमेरिका, जापान, चाईना लगायत विभिन्न देशका वैज्ञानिकहरूले ३५ वर्षदेखिको अनुसन्धानका उपलब्धीहरू अध्ययनको क्षेत्रमै गई त्यहाँका स्थानीय नेतृत्व, स्थानीय बासिन्दा, स्थानीय प्रशासन तथा सरोकारवालाहरूलाई जानकारी गराउनुका साथै भविश्यमा अपनाउनुपर्ने उपायहरूको बारेमा सुझावसमेत दिएको कन्फ्रेन्सका संयोजक डा. रेग्मीले बताए ।

shares