स्थानीय तहका कर्मचारीको काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन

काठमाडौं, १० पुस । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूले मंगलबार काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गरेका छन् ।

देशभरका स्थानीय तहका कर्मचारीहरूले मंगलबार काठमाडौंमा भेला भई सरकारले हालै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दबाब दिएका हुन् । काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको र्‍याली सुन्धरास्थित बाघदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै स्थानीय तह कर्मचारी संघ, नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले निजामती कर्मचारीहरूलाई भन्दा कम सेवा र सुविधा दिने गरी जारी गरिएको सो विभेदकारी अध्यादेशविरुद्ध आन्दोलन गर्नु परेको स्पष्ट पारे । उनले सो विधेयक तत्काल नसच्याए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

स्थानीय तहका कर्मचारीहरूले स्थानीय तहमा कार्यरत ज्यालादारी, करारमा रहेका कर्मचारीहरूलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्न पनि सरकारलाई दबाब दिँदै आएका छन् । उनीहरूले निजामती कर्मचारी सरह सेवा र सुविधाको व्यवस्था नगरेसम्म कर्मचारी समायोजना अध्यादेश मान्य नहुने स्पष्ट पार्दै एक हप्तायता कामकाज नै प्रभावित हुने गरी आन्दोलन सुरु गरेका हुन् ।

स्थानीय तहमा करिब २० हजारभन्दा कर्मचारीहरू रहेका छन् । उनीहरूको हितप्रतिकूल हुने गरी सो अध्यादेश ल्याएको भन्दै स्थानीय तहका कर्मचारीहरू सरकारप्रति आक्रोशित भएका छन् ।

shares