ए डिभिजन लिग फुटबलको ११औं चरणको खेल भोलिदेखि

काठमाडौं, १० पुस । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको ११औं चरणको खेल भोलिदेखि शुरु हुँदैछ ।

भोलि हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो २ बजे दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा न्यु रोड टिम एन आर टि र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा सबै टिमले १० खेल खेलीसक्दा मनाङ मर्स्याङ्दीको यात्रा अहिलेसम्म अपराजित छ । १० खेलमा १० वटै खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा छ । उपाधि होडमा मनाङलाई पछ्याइरहेको संकटा क्लबले १० खेलबाट ८ जित हात पारेको छ भने १ खेलमा बराबरी र १ खेलमा हार ब्यहोरेको छ ।

शुरुवातबाटै उपाधि दाबेदार मानिएको थ्रिस्टार क्लब भने २३ अंकका साथ तेस्रो स्थानमा छ । दुई विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफले समान ५ खेलमा जित हात पारेका छन् । नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र हिमालयन शेर्पाले समान ४ खेल जितेका छन् ।

सरस्वतीले ३ खेल जितेको छ भने जावलाखेल र फ्रेन्ड्सले मात्र २ खेल जितेका छन् । ब्रिगेड बोइज, मछिन्द्र र नआर टिले मात्र १ खेल जितेका छन् । लिग सकिन ३ खेल बाँकी रहँदा मनाङले बलियो सम्भावना देखाएको छ । संकटा उपाधि होडमा मनाङको पछि छ भने थ्रिस्टार पनि उपाधिको होडमा छ ।

shares