विमानस्थल विस्तारका लागि रोक्का गरिएको जग्गाको मुआब्जा नदिएको भन्दै धर्ना

झापा, ९ पुस । चन्द्रगढी विमानस्थलको विस्तारका लागि जग्गा रोक्का गरेको एक वर्षमा पनि मुआब्जासम्बन्धी कुनै जानकारी जग्गा धनीलाई नगराएको भन्दै आज स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

जग्गा रोक्का भएका स्थानीय जनताले सोमबार दिउँसो एयरपोर्टको मूल गेटमा नाराबाजी गर्दै एकघण्टा धर्ना दिएका थिए । चन्द्रगढी विमानस्थल विस्तार पीडित सङ्र्घर्ष समितिकी संयोजक स्वर्णीका सिंहको नेतृत्वमा गएको टोलीले “जनतालाई दुःख दिन पाइदैन, कोठे वैठक बन्द गर, हाम्रो जग्गा फुकुवा गर, सरोकारवालासँग छलफल गर, विकासको नाममा सुकुम्बासी बनाउन पाइँदैन” लगायतका नारा लगाउँदै गेटमा धर्ना दिएका थिए ।

धर्नाका कारण केहीबेर सवारी आवतजावतमा समस्या देखिएको थियो । सरकारले मुआब्जा नदिने हो भने तत्काल फुकुवा गरी जग्गाधनीलाई सहज बनाउन भन्दै जग्गाधनीले पटक–पटक एयरपोर्ट तथा जिल्ला प्रशासन कार्यालयमा दबाब दिंदै आएपनि सुनुवाइ नभएको समितिका सदस्य सोनु कानूले बताए ।

सूचना जारी गरेसँगै जग्गाधनीले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि हालसम्म एयरपोर्टले कुनै आधिकारिक जानकारी नगराएको गुनासो छ ।

shares