बसको ठक्करबाट एकको मृत्यु, घोराही तनावग्रस्त

दाङ, ९ पुस ।  दाङको घोराहीमा लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घोराही उपमहानगरपालिका १८ फुर्सेखाली निवासी २९ वर्षीय मेघराज पुनमगरको मृत्यु भएको छ ।

स्कुटरमा सवार फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाईते भएको र उनको अहिले कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । मृत्युपछि पीडित परिवार र स्थानीयहरूले शवलाई प्रहरीले जबर्जस्ती उठाएको भन्दै आक्रोश पोखेका छन् । आक्रोशित व्यक्तिहरूले बजारका पसलहरू बन्द गराएका छन् ।

प्रहरीले ९ सेल अश्रुग्यास फायर गरी भीडलाई तितरबितर पारेर शवलाई उठाएको छ भने बसलाई प्रहरी कार्यालयमा पुर्‍याएको छ । पीडित पक्षका परिवारले बजार बन्द गराउँदै हिड्ने क्रममा केही युवाहरूले २ वटा टिप्परमा समेत तोडफोड गरेका छन् ।

घोराही –१५ बीपी चोकमा ना ६ ख ४०३७ नम्बरको टिप्परको सिसा फुटाएका थिए । युवाहरूले प्रहार गरेको ढुंगा लागेर टिप्परका चालक बंगलाचुली गाउँपालिका –८ रानिबासका ४३ वर्षीय दलसिंह दर्लामी घाईते भएका छन् । घाईते चालक दर्लामीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर भएको छ ।

ढुंगा हान्ने केही युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीहरूलाई कानून अनुसार कार्वाही गर्ने जानकारी दिएका छन् । प्रहरीले हुलदंगामा संलग्न भएको भन्दै केहीलाई करिब १ घण्टा नियन्त्रणमा लिएर छोडेको छ ।

पीडित परिवारले दोषीलाई कडा कार्वाहीको माग गरेका छन् । मृतकका बुवा प्रेमबहादुर पुनले नातीलाई पढाउनु पर्ने, बुहारीलाई रोजगारीको व्यवस्था गरिदिनुपर्ने र बस चालकलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कार्वाहीको प्रकृयालाई अघि बढाउने बताए ।

shares