पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफलाई ७ वर्षको जेल सजाय

काठमाडौं, ९ पुस । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई भ्रष्ट्रचारविरोधी एक अदालतले भ्रष्ट्राचार मुद्दामा सात वर्षको जेल सजाय सुनाएको छ ।

तीनपटक प्रधानमन्त्री बनेका शरिफले साउदी अरबस्थित एक स्टील कम्पनीको स्वामित्वको सन्दर्भमा स्रोत खुलाउन नसकेपछि नेशनल अकाउन्टिबिलिटी ब्युरोले सोमबार सो सजाय सुनाएको हो ।

फैसला पूर्व-प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।

शरिफ यसअघि पनि विभिन्न आरोपमा जेल गइसकेका छन् । उनलाई लण्डनमा महंगो अपार्टमेन्ट खरिदसम्बन्धी मुद्दामा सोही अदालतले गत जुलाईमा १० वर्षको लागि सजाय सुनाए पनि सेप्टेम्बरमा इस्लामावाद उच्च अदालतले धरौटीमा रिहा गरेको थियो ।

शरिफले आफूविरुद्ध लागेको सबै किसिमको मुद्दा झुटो भएको दाबी गर्दै आएका छन् । पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आएका छन् ।

अदालतको यो फैसलालाई शरिफको पार्टीले गम्भीर रूपमा लिने अपेक्षा गरिएको छ । थुनामा रहेका शरीफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन् ।

फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । फैसलापछि शरीफ र उनका पार्टीका समर्थकहरूले अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए भने उनीहरूलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

shares