अख्तियारले २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं, ९ पुस । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामेश्वर दंगालले प्रमुख आयुक्त नविनकुमार घिमिरेले शीतल निवासमा आयोजित कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएको जानकारी दिए । २ सय ४७ पृष्ठ लामो प्रतिवेदनमा अख्यिारले एक वर्षभित्र सम्पादन गरेका कामकार्वाहीहरू समावेश गरिएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा आयोगमा कूल १९ हजार ४ सय ८८ वटा उजुरी परेको उल्लेख छ । तीमध्ये १२ हजार ४ सय उजुरी फस्र्यौट गरिएको प्रवक्ता दंगालले जानकारी दिए । त्यस्तै ६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको र २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको अख्तियारले जनाएको छ ।

यस वर्ष भ्रष्टाचार सम्बन्धी सबैभन्दा बढी उजुरी शिक्षा मन्त्रालयसँग सम्बन्धित छ । त्यसैगरी सबैभन्दा कम उजुरी अर्थ मन्त्रालयसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ । दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तेस्रोमा भूमि सुधार मन्त्रालयसँग सम्बन्धित र चौंथो वन मन्त्रालयसँग सम्बन्धित उजुरी बढी रहेको आयोगले जनाएको छ ।

shares