नक्कली जग्गा धनी बनेर जग्गा बेच्न खोज्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिल काठमाण्डौका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहितका १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

चन्दनकृष्ण श्रेष्ठ भनिने राजु थापा मगरले मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी सक्कली जग्गा धनीको फोटो उप्काएर त्यसमा आफ्नो फोटो टाँसी नक्कली जग्गा धनी बनेर साढे २ रोपनी जग्गा अरुलाई बेचेको अख्तियारको दाबी छ ।

यो गैरकानुनी काममा संलग्न रहेको भन्दै मुद्दा दायर हुनेमा प्रमुख मालपोत अधिकृत तिमल्सिनासहित चाबहिल मालपोतका १३ जना कर्मचारी र अरु ३ जना सर्वसाधारण छन् । मालपोत अधिकृतहरू खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी तथा नायव सुब्बाहरू रञ्जनकुमार खरेल र जमुनकुमारी श्रेष्टविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यस्तै कार्यालयका सहयोगीहरू चन्दनकृष्ण श्रेष्ठ भनिने राजु थापा मगर, सानुभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अर्थ क्लव तथा बचत ऋण सहकारी संस्था सुन्धाराका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल, प्रबन्ध निर्देशक सुरेशकुमार थापा र सानिमा बैंक एकान्तकुना ललितपुरका ट्रेलर सनिश सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको दंगालले जानकारी दिए ।

मुद्दा दायर गरिएका १० जनासँग जनही ६ करोड रुपैयाँ विगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

shares