एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै गाउँपालिकाका कर्मचारी

झापा, ९ पुस । झापाको एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ ।

झापाको बाह्रदशी गाउँपालिकाले सरकारी नीति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याएको सञ्चारकर्मीले स्थलगत रिपोटिङ्गको क्रममा भेटाएपछि यस्तो खुलासा भएको हो ।

कार्यालय परिसरमा रहेको दुई वटा मोटरसाइकलमा सेतो नम्बर प्लेटमा लेखिएको मे १ ब ७४९ नम्बर फेला परेको हो । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सीसीको पल्सर रहेको छ । एउटा मोटरसाइकल लेखा अधिकृत सेवकबिक्रम राई र अर्को मोटरसाइकल इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रयोग गर्दै आइरहेका छन् ।

यता एउटै नम्बर प्लेटको दुई वटा मोटरसाइकलको बिषयमा खोज अनुसन्धान गर्दा एउटा मोटरसाइकलको नम्बर मे १ ब ७५६ रहेको फेला पर्‍यो । २०७५ साल असोज २९ गते मेची यातायात व्यवस्था कार्यालयमा दर्ता भएको एउटा मोटरसाइकलको सही नम्बर ब्लुबुकबाट खुलेको हो ।

अर्को नम्बर कति हो भन्नेमा खुलासा भएको छैन । त्यसको ब्लुबुक गाउँपालिका कर्मचारीले देखाउन नमानेपछि एउटा मोटरसाइकल रहस्यमय बनेको छ । गाउँपालिकाले एउटै नम्बरको मोटरसाइकल प्रयोगमा ल्याउनु चरम लापरवाहीको भएको स्थानीय बताउँछन् ।

यता मोटरसाइकलबारे बुझ्दा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद नेपालले एउटै नम्बर प्लेटको मोटरसाइकलको बारेमा हिजो मात्र थाहा पाएको बताए । “अफिसकै लागि मोटरसाइकल खरिद गरेको हो, कार्यालयकै कमजोरीले यस्तो भएको हुनसक्छ, लेख्ने कुरामा कमजोरी भएको होला” भन्दै गैर जिम्मेवारीपूर्वक जवाफ फर्काएर उनी पत्रकारबाट पन्छिए ।

shares