आईएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन: विविध विषयमा छलफल

पोखरा, ९ पुस । आईएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा आइतबार विभिन्न विषयवस्तुमा चर्चापरिचर्चा भएको छ । आइएमईले मुख्य प्र्रायोजन गरेको कार्यक्रममा लेखक साहित्यकारसँगै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । फेस्टिभलको पहिलो सेसन ‘सय वर्षपछिको नेपाल’ मा आइतबार वरिष्ठ पत्रकार एवम् लेखक सुधीर शर्मा र अर्थविद् विश्व पौडेलले अन्तर्क्रिया गरे ।

सेसनमा उनीहरूले सय वर्षपछिको नेपालको अनुमान मात्रै गरेनन्, अहिले भइरहेका विकास एवम् राजनीति आदिका कारण विकासमा पछि परेको नेपालका विषयमा पनि चर्चापरिचर्चा गरे । उक्त अवसरमा उनीहरूले नेपालको आर्थिक समृद्धि र विश्व अर्थतन्त्रबारे पनि चर्चा गरे । राणशासनदेखि अहिलेसम्मका शासकका वृत्ति, मनोवृत्ति एवम् प्रवृत्तिका विविध पक्षमा पनि उनीहरूले अन्तरसंवाद गरे । पर्यटन एवम् यहाँका सम्भावनालाई चिनेर अघि बढ्न सके नेपालको भविष्य उज्ज्वल रहेको उनीहरूको धारणा थियो ।

दोस्रो सेसन ‘क्यान नेपाल बी द (इन्टेलेक्चुअल) सलोन अफ साउथ एसिया ?’ मा हरिश नाम्बियर, मोहम्मद हनिफ र कनकमणि दीक्षितले अन्तर्क्रिया गरे । रम्यता लिम्बू प्रस्तोता रहेकी सो कार्यक्रममा आर्ट अफ एक्टिभिज्म शीर्षकमा छलफल भएको थियो । उक्त अवसरमा मञ्जुश्री थापासँग अस्मिना रञ्जितले छलफल चलाइन् ।

तेस्रो सेसनमा भिजिट नेपाल २०२० बारे संवाद भयो । यसको शीर्षक थियो, ‘किन घुम्ने नेपाल ?’ यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योगी सुरज वैद्य र आङछिरिङ शेर्पाले अन्तर्क्रिया गरे । सुजित महत प्रस्तोता रहेका सो कार्यक्रममा मन्त्री अधिकारीले भिजिट नेपाल २०२० को सफलताका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । साथै निजीक्षेत्रको सहकार्यमा सरकारले विभिन्न पर्यटनका योजना ल्याउने तयारी गरिरहेको उनको भनाइ छ ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेको र केही वर्षभित्रै यसको क्षमता अहिलेको तुलनामा दोब्बर पुग्ने दाबी गरे । सँगै भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थल पूरा भएसँगै नेपालमा पर्यटक पनि बढ्ने र भिजन २०२० को लक्ष्य पनि पूरा हुने उनको भनाइ छ । पाँच वर्षभित्र निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल करिबकरिब निर्माण भइसक्ने अवस्थामा रहने उनले आँकलन गरे ।

कार्यक्रमको चौथो सेसनमा अभिनेता दयाहाङ राई र खगेन्द्र लामिछानेले अन्तरसंवाद गरे । त्यसको प्रस्तोता थिए, लेखक बुद्धिसागर । उनीहरूले ‘सहर, साथी र सपना’ शीर्षकमा छलफल गरे । अत्यन्त रोचक सो सेसनमा सहभागीहरूले एउटा व्यक्ति गाउँले जीवनबाट सहर पसिसकेपछि उसले गरेका संघर्षका कथा मात्रै सुनाएनन्, सुख र दुःखका अनेकौं रमाइला किस्सासमेत सुनाए । तीनै जनाले आफूहरूका प्रवृत्ति र दैनिकीबारे पनि छलफल गरे ।

सोही समयमा ‘रेमिट्यान्स साहित्य: दुःखदेखि दुःखसम्म’ शीर्षक सेसनमा गणेश गुरुङ, उमा सुवेदी र जनकराज सापकोटाले वैदेशिक रोजगारीका दुःख, व्यथा एवम् पीडाबारे संवाद गरे । वैदेशिक रोजगारीको सामाजिक प्रभावबारेको पुस्तक कहर लेखिसकेका जनराज सापकोटाले भने, ‘८० वर्षभन्दा बढी समयदेखि वैदेशिक रोजगारीमा जानेहर” रहे पनि नेपाली साहित्यमा त्यसले अझ उचित स्थान पाएको छैन ।’ उनीहर”ले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक विग्रहबारे पनि छलफल गरे ।

पाँचौं सेसनमा ‘मधेस: आन्दोलनदेखि आख्यानसम्म’ शीर्षकमा शिवानीसिंह थारु, बसन्त बस्नेत र गणेशप्रसाद लाठले अन्तरसंवाद गरे । उक्त अवसरमा उनीहरूले आन्दोलनदेखि आख्यानसम्म मधेसको अवस्था एवम् चित्रणबारे छलफल गरे । साथै उक्त अवसरमा मधेसलाई विषय बनाएर लेखिएका साहित्यले पारेको प्रभावका विषयमा पनि छलफल भयो ।

कार्यक्रममा भूमिका श्रेष्ठ, ऋचा शर्मा र सुरेश ढकालले मीटू अभियानबारे चर्चापरिचर्चा गरेका थिए । उक्त अवसरमा उनीहरूले पछिल्लो समय चर्चामा रहेको मीटू अभियानको विषयमा चर्चा मात्र गरेनन्, नेपालमा महिला हिंसाका विषयलाई पनि विभिन्न दृष्टिकोणबाट विचारविमर्श गरे ।

छैटौं सेसनमा ‘द आर्ट अफ राइटिङ’ शीर्षकमा म ञ्जुश्री थापा र प्रज्ज्वल पराजुलीसँग मुना गुरुङले अन्तरसंवाद गरे । उनीहरूले लेखनकला एवम् शैलीका विविध पक्षमाथि चर्चा गरे । सँगै आफूहरूले अपनाएको लेखनकलाका विषयमा पनि प्रस्ट्याए । सोही समयमा ‘कविताको कोरियोग्राफी’ शीर्षकमा विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिजसँग सरस्वती प्रतीक्षाले छलफल चलाइन् । उनीहरूले कविता लेखनका कुरा विविध पक्षबारे चर्चा गरे । र कविता लेख्नुअघिका रोचक तथ्य पनि प्रस्तुत गरे ।

आइतबारको अन्तिम सेसन ‘आकाश, बिम्बाकाश’मा नवराज पराजुलीले बर्तिका एम राई र अजर जङ्गमसँग अन्तरसंवाद गरे । उनीहरूले कविता लेखन एवम् गीत लेखनका विषयमा चर्चा गरेका थिए ।

shares