पानीको बहाव घटेपछि मध्य मर्स्याङ्दीको विद्युत उत्पादनमा कमी

लमजुङ, ८ पुस । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि ७० मेगावट क्षमताको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रबाट उत्पादन हुँदै आएको विद्युतमा कमी आएको छ ।

वर्षायाममा ७२ मेगावटसम्म उत्पादन हुने उक्त जलविद्युत केन्द्रबाट अहिले दैनिक औसत ४६ मेगावट मात्रै विद्युत उत्पादन हुने गरेको छ । जलविद्युत केन्द्रमा राती र दिउँसो एउटा टर्वाइन बन्द गरेर एउटा टर्वाइनबाट ३५ मेगावट मात्रै विद्युत निकाल्ने गरिएको छ ।

मध्य मर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पशुपतिराज गौतमले दिउँसो २ देखि ३ घण्टा र राती ३ देखि ४ घण्टाको समयमा एउटा मात्रै टर्वाइन संचालन गरी पानी सञ्चित गर्ने गरिएको बताए ।

यस्तै ५० मेगावट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनामा पनि पानीको बहावमा कमी आएको छ । यसअघि पानी छोडेर पूरै क्षमतामा विद्युत उत्पादन गरिरहेको आयोजनाले अहिले पूरै पानी बन्द गरेर सुरुङमार्फत विद्युत उत्पादनका लागि पठाएको छ ।

अहिले तत्कालै विद्युत उत्पादन नघटेको भएपनि अब डिसेम्बरपछि पानीको बहाव अझ कम हुने हुनाले उत्पादनमा कमी आउने आयोजनाले जनाएको छ ।

shares