नेकपा स्थायी कमिटि बैठकले दिएकाे ओली-प्रचण्डका तीन विकल्प

मधुकर लुइटेल

काठमाडाैं । पार्टी स्थायी कमिटी बैठकमा सत्तारुढ नेकपाका धेरै नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कठोर हमला गरे । प्रचण्डसँग मिलेर अध्यक्ष ओलीले प्रतिवेदन ल्याएपनि उनको तुलनामा प्रचण्डको आलोचना थोरै भयो । बैठकमा उठेका प्रश्नको भोलि अध्यक्षद्धयले पालैपालो जवाफ दिँदै हुनुहुन्छ । र, उहाँहरुले दिने जवाफले मिलेर जाने वा लडेर भन्ने नेकपाको आन्तरिक राजनीतिको बाटो तय गर्नेछ ।

स्थायी कमिटी बैठकमा नेताहरु खुलेरै बोलेका छन् । कसैले भाषाको मर्यादा मिचेका छन्, कसैले मुद्दा भन्दा बाहिर गएर कुण्ठा पोखेका छन् । पाँच नेताको लिखित मतबाहेक धेरै नेताले सरकार र पार्टी संचालनमा प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गरेका छन् । मन्त्रीमण्डलको पुर्नगठन, एसिया प्यासेफिक समिट, पार्टी एकता र कार्यविभाजनसम्ममा पनि नेताहरुले धक फुकाएर मत राखेका छन् । पार्टी बैठकमा धेरै मत उठेपछि असन्तुष्टका मुद्दा सम्बोधनमा नेतृत्वले कति ध्यान देला, धेरैको चाँसो छ । बैठकमा उठेका मुद्दा सम्बोधनमा नेतृत्वले ध्यान दिए पार्टी ठूलो र सशक्त हुने कतिपय नेतालाई लागेको छ । र, ओली निकट मानिएकै नेताले पनि सरकारको पुर्नविचार गर्ने बेला भएको दिएका छन् ।

सुझाव समेटेर नेतृत्वले राजनीतिक प्रतिवेदन परिमार्जन गरे पार्टी हितमा हुने केही नेताको भनाई छ । आन्तरिक विषयको सहि समाधान नगरे समाज रुपान्तरणको जिम्मा लिएको पार्टीमाथि प्रश्न उठ्ने मत पनि छ ।

नेताको मत जे सुकै भएपनि अन्तिम निर्णय सम्भवत ओली र प्रचण्डको हातमा छ । त्यसैले अहिले उहाँहरुसँग केही विकल्प छन् । सवैको चासो सम्बोधनसहित प्रतिवेदन पुर्नलेखन गर्ने पहिलो, बहुमतका आधारमा अगाडि बढ्ने विकल्प छ । दोस्रो र प्रचण्डसँग सहमति जुटेका विषयमा निर्णय गर्ने र वाँकी निर्णय पोलिटव्यूरो वा केन्द्रीय कमिटीबाट टुंगाउने तेस्रो विकल्प छ ।

अहिलेको शक्ति सन्तुलनमा ओली प्रचण्डलाई साथ नलिई अगाडि बढन नसक्ने अबस्था छ । र, प्रचण्ड पार्टीभित्रका असन्तुष्टलाई रिसाएर जाने मूडमा हुनुहुन्न । पार्टीभित्रका असन्तुष्टलाई पनि मिलाउने वा बहुमतको दम्भ प्रर्दशन गर्ने ? त्यसैमा निर्भर हुनेछ, नेकपाको आन्तरिक जीवन, ओली सरकारको काम । कुन बाटो रोज्ने यो त ओली र प्रचण्डकै जिम्मा छ ।

हेर्नुहाेस् याे रिपाेर्ट

shares