मनाङ्द्वारा पुलिस पराजित, अर्को खेलमा संकटालाई हराए २ खेल अगावै मनाङ् च्याम्पियन बन्ने

काठमाडौं, ८ पुस । शहीद स्मारक ए डिभिजन लिगमा शतप्रतिसत जित आत्मसाथ गर्दै मनाङ् मर्स्याङ्दी क्लबले उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

दशौं चरणको खेलमा मनाङ्ले नेपाल पुलिसको चुनौति १–० ले परास्त गर्दै मनाङ्ले तालिकामा पाँच अंकको अग्रता लिएको छ । लिगमा अब प्रत्येक टिमले तीन खेल खेल्न बाँकी रहँदा उपाधि जित्नका लागि मनाङलाई पाँच अंक पर्याप्त हुनेछ ।

अब मनाङ्ले संकटा, फ्रेण्ड्स र हिमालयन शेर्पा क्लबसँग खेल्न बाँकी छ । मनाङ्ले एघारौं चरणमा संकटाको सामना गर्नेछ । संकटाविरुद्ध जित हात पारेको खण्डमा मनाङ् दुई खेल अगावै च्याम्पियन बन्न सक्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ्लाई जित दिलाउन अदेलाजा सोमाइदेको दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले खेलको ५२औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । जितसँगै मनाङले १० खेलमा ३० अंक बनाएको छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।

आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब एपीएफसँग २-१ ले स्तब्ध भयो । एपीएफको जितमा आषिश लामाले दुई गाेल गरे । नवयुग श्रेष्ठले आर्मीकाे सान्त्वना गोल फर्काए । हारपछि १० मध्ये ५ जित ३ बराबरी र दुई हार बेहाेरेकाे आर्मी १८ अंकसहित लिगको चौथो स्थानमा छ । समान खेल खेलेकाे एपीएफ पाँच जित, चार हार र एक बराबरीसहित लिगकाे पाँचाै उक्लिएकाे छ ।

shares