कर्मचारी समायोजन अध्यादेशविरुद्ध उत्रन महासंघको आह्वान

काठमाडौं, ८ पुस । राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीहरूलाई आह्वान गरेको छ ।

कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरूलाई आह्वान गरेको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी महासंघका नवनिर्वाचित अध्यक्ष टोपबहादुर बानियाँले सो अध्यादेश खारेज गरेर कर्मचारी समायोजना गर्नुअघि संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन र कर्मचारी समायोजन ऐन एक साथ जारी गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

महासंघले अस्थायी, करार र ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरूलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्न पनि सरकारसँग माग गरेको छ । खानेपानीलगायतका संस्थानहरूमा भइरहेको कर्मचारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महासंघले उनीहरूको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दबाब दिएको छ ।

बानियाँ नेतृत्वको ४५ सदस्यीय नयाँ केन्द्रीय कार्य समितिले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कार्य अनुभव र शैक्षिक योग्यताको आधारमा यथोचित सेवा, सुविधा वृद्धि नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

shares