ब्रेक्जिट सम्झौताबारे छलफल गर्न बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

काठमाडौं, २५ मंसिर । बेलायतकी प्रधानमन्त्री थेरेसा मे मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेताहरूसँग भेटघाटका लागि ब्रसेल्सतर्फ प्रस्थान गरेकी छन् । ब्रेक्जिट योजनामा युरोपेली नेताहरूको समर्थन खोज्नु प्रधानमन्त्री मेको भ्रमणको उदेश्य रहेको बुझिएको छ ।

उता युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकामा आश्चर्य व्यक्त गरेका छन् । नोभेम्बर २५ मै यस बारेमा सम्झौता गरिसकेकोले सो सम्झौता सबैभन्दा उत्तम भएको कुरा मेसँगको भेटमा अाफूले राख्ने जन्करले बताए ।

प्रधानमन्त्री मेले युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कसँग पनि भेट्ने कार्यक्रम छ । नेताद्वयबीच बिहीबार आपतकालीन ब्रेक्जिट वार्ता गर्ने तय भएको छ । टस्कको कार्यालयले बेलायती प्रधानमन्त्री मे दी हेगको भ्रमण पश्चात् ब्रसेल्स आउने जनाएको छ । उनले नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट र जर्मन चान्सलर एन्जेला मर्केलसँग बर्लिनमा भेटघाट गर्नेछिन् ।

सोमबार, ब्रेक्जिट सम्झौतालाई बेलायती संसदबाट पारित गर्ने कार्यक्रम प्रधानमन्त्री मेले हाल स्थगित गरेकी छन् । उनले ब्रेक्जिटसम्बन्धी सम्झौताका बारेमा संसदमा मतदान गर्नुअघि युरोपेली नेताहरूको समर्थन लिन खोजेकी छन् । यद्यपी, युरोपेली युनियनसँग यसअघि नै ब्रेक्जिटबारे सम्झौता भइसकेको छ ।

shares