ईपीएलमा लगातार दोस्रो जित हात पार्दै भैरहवा ग्लाडियटर्स तालिकाको दोस्रो स्थानमा उक्लियो

काठमाडौं, २५ मंसिर । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएलमा लगातार दोस्रो जित हात पार्दै भैरहवा ग्लाडियटर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा चितवन राइनोजलाई १२ रनले हराउँदै भैरहवा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आएको हो । १४४ रनको मध्यम लक्ष्य पछ्याएको चितवनले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १ सय ३१ रन बनायो । चितवनका लागि ओपनर पाउल स्टर्लिङले ३८ रन जोडे । त्यस्तै, जोन सिम्पसनले २६, शाहब आलमले नटआउट १६ र दीलिप नाथले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले २/२ विकेट लिए । यसअघि, टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा सबै विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । उसका लागि रायन टेन डोसचाटले सर्वाधिक ३५ रन बनाए भने प्रदिप ऐरीले २६, रवि इन्दर सिंहले २५ र आरिफ शेखले १८ रन जोडे । बलिङतर्फ सागर ढकालले तीन विकेट लिँदा जर्ज स्कटले दुई विकेट हात पारे । योसँगै लगातार तेस्रो हार व्यहोरेको चितवन पाँचौं स्थानमा छ ।

आजै भएको पहिलो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गर्दै विराटनगर वारियर्सले दोस्रो जित हात पारेको छ । टस हारेर ब्याटिङ्को निम्तो पाएको पोखरा १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भयो । पाँच रनको अवस्थामा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाएको थियो । यसक्रममा रिचर्ड लेभी ३ रन, केल कोट्जर ४, विनोद भण्डारीले एक रन बनाए भने शुवेन्दु पाण्डेले खाता नै खोल्न सकेनन् । पाउल कोलिनको २० रन नै पोखराको सर्वाधिक रन बन्यो ।

यस्तै राजेश पुलामी मगरले १७ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिए भने राउल्फ भ्यान डर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले एक एक विकेट लिए । ८५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर पनि १९ ओभर तीन बलमा ८४ रनमै अलआउट भएपछि खेल सुपरओभरमा पुग्यो ।

विराटनगरका लागि आशिफ शाले सर्वाधिक १९ रन बनाए भने करण केसीले १५, रोविन क्षेत्री र हरि चौहानले १२–१२ रन जोडे । बलिङ तर्फ सुशन भारी, विपिन खत्री, विक्रम सोब र पाउल कलिनले २–२ विकेट लिए । सुपरओभरमा करण केसीले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगरले २१ रनको लक्ष्य दिएको थियो । तर, जवाफमा पोखराले १३ रनमात्र जोड्न सकेपछि विराटनगरले तालिकामा चार अंक जोड्दै तेस्रो स्थानमा रहन सफल भयो ।

प्रतियोगिता अन्तर्गत भोलि भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स तथा काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याटिङयट्सबीच प्रतिस्पर्धा हुनेछ ।

shares