ईपीएलको अाजको पहिलो खेलमा विराटनगर वारियर्स विजयी

काठमाडौं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग ईपीएलमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ ।

पोखरा राहिनोजलाई सुपर ओभरमा पराजित गर्दै विराटनगरले दोस्रो जित हात पारेको हो । टस हारेर ब्याटिङ्को निम्तो पाएको पोखरा १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भयो । पाँच रनको अवस्थामा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाएको थियो ।

यसक्रममा रिचर्ड लेभी ३ रन, केल कोट्जर ४, विनोद भण्डारीले एक रन बनाए भने शुवेन्दु पाण्डेले खाता नै खोल्न सकेनन् । पाउल कोलिनको २० रन नै पोखराको सर्वाधिक रन बन्यो । यस्तै राजेश पुलामी मगरले १७ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।

पोखरालाई सस्तैमा समेट्नका लागि पाउल भ्यान मेकेरेनले तीन विकेट लिएभ ने राउल्फ भ्यान डर मार्वीले दुई तथा बसन्त रेग्मी र स्मित पटेलले एक एक विकेट लिए । ८५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर पनि १९ ओभर तीन बलमा ८४ रनमै अलआउट भएपछि खेल सुपरओभरमा पुग्यो ।

विराटनगरका लागि आशिफ शाले सर्वाधिक १९ रन बनाए भने करण केसीले १५, रोविन क्षेत्री र हरि चौहानले १२¬¬–१२ रन जोडे । बलिङ तर्फ सुशन भारी, विपिन खत्री, विक्रम सोब र पाउल कलिनले २–२ विकेट लिए । सुपरओभरमा करण केसीले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगरले २१ रनको लक्ष्य दिएको थियो । तर जवाफमा पोखराले १३ रनमात्र जोड्न सकेपछि विराटनगरले तालिकामा चार अंक जोड्यो ।

अहिले चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सकावीच खेल भइरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा १४३ रन बनाएको थियो । उसका लागि रायन टेन डोसचाटले सर्वाधिक ३५ रन बनाए भने प्रदिप ऐरीले २६, रवि इन्दर सिंहले २५ र आरिफ शेखले १८ रन जोडे । बलिङतर्फ सागर ढकालले तीन विकेट लिँदा जर्ज स्कटले दुई विकेट हात पारे । १४४ रनको लक्ष्य लिएर चितवन अहिले ब्याटिङमा छ ।

shares