Breaking News

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व वनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको ठहर गर्दै आयोगले कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो । सिक्टा आयोजनाको मूल नहर भत्किएको, मूल नहरको डिजाइनमै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको आरोप छ ।

तीन आयोजना प्रमुख, दुई ठेकेदारसहित २१ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । जसमा तीनजना सिक्टा आयोजनाका तत्कालीन प्रमुख र अरु सिनियर डिभिजनल ईञ्जिनियर सहितका कर्मचारी छन् । उनीहरूमाथि आठ अर्ब ५९ करोड ८८ लाख ३१ हजार ४ सय ३१ रुपैयाँ बिगो दाबी गरिएको छ । आयोगले पूर्व मन्त्री पाण्डेसँग २ अर्ब १३ करोड बीगो दाबी गरेको छ ।

मुद्दामा आयोजनाका तत्कालीन प्रमुखहरू सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की र रमेश बस्नेत, सीडीई मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी र प्रकाशबहादुर कार्कीलाई पनि विपक्षी बनाइएको छ ।

सिंचाई विभागका सुपरिसेन्डिङ इन्जिनियर कमलप्रसाद रेग्मी, सीडीई रविनाथबाबु श्रेष्ठ र अशिषचन्द्र खनालविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ । त्यस्तै इम्राक इट्काे नेपाल जेभीका प्रबन्ध निर्देशक उद्धवराज चाैलागाईविरुद्ध २ कराेड ४० लाख बिगाे दाबी गरिएकाे छ ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गरेको छ ।

shares