Breaking News

अस्पतालकाे छेवैमा कानूनकाे खिल्ली

कमला गुरुङ

अस्पतालकाे छेवैमा केही खुद्रा पसल छन् । याे पसलमा चुराेट, सूर्ति, गुट्खा, पराग लगायत सूर्तिजन्य पदार्थकाे खुला रुपमा बिक्री भइरहेकाे छ । यस्तैमा एक युवा अाउँछन् । चुराेट किन्छन्, लाइटर माग्छन् र त्यही अस्पताल अगाडि खान्छन् ।

यो दृश्य हो, ललितपुरस्थित पाटन अस्पताल परिसरको । अस्पताल छेवैमा सूर्तिजन्य पदार्थको बिक्री र सेवन गर्न नपाइने कानून मिचेको योभन्दा अर्को बलियो प्रमाण नहोला । पाटन अस्पतालमा मात्रै होइन, वीर अस्पताल परिसरको दृष्य पनि फरक छैन । खुल्लमखुल्ला सूर्तिजन्य पदार्थको बिक्री र प्रयोग भैरहेको छ, यहाँ । पाटन र वीर अस्पताल आसपास मात्रै होइन, थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल परिसरमा पनि कानूनको खिल्ली उडेको छ ।

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ अनुसार सार्वजनिक स्थानमा चुरोट, बिंडी, गुट्खा, कच्चा सूर्ति, खैनी बिक्री वितरण र सेवन गर्न पाँइदैन । यसै ऐनमा अस्पतालको एक सय मिटर वरपर यसको बिक्री वितरण गर्न नपाइने उल्लेख छ ।

कानून जान्दाजान्दै पनि व्यापारी नाफामै केन्द्रित छन् । वीर अस्पतालकाे छेवैमा व्यापार गरीरहेकी महिला भन्छिन्, ” थाहा थियाे तर के गर्नु बाध्यता छ । ” उनी मात्र हाेइन, पाटन अस्पताल नजिक घुम्ती पसल राखेर व्यापार गर्ने युवा भन्छन्, ” थाहा त छ । तर हामीले त बेच्न पाउनु पर्ने हाे । बाटाेमा राखेर पाे बेच्न पाइँदैन ।”

कानून बनाएर पठाउने, अनि लागू गर्ने विषयमा स्वास्थ्य मन्त्रालयको अर्कै धारणा छ । मन्त्रालयका अनुसार सूर्तिजन्य पदार्थकाे नियन्त्रण र नियमनका लागि पहल भइरहेकाे छ । संघीय स‌ंरचना अनुसार अब याे जिम्मा स्थानीय तहलाई गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठ बताउँछन् । ”स्वास्थ्य मन्त्रालय अाँफैले नियमन गर्दैन । नियमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा टाेली हुन्छ । अहिले भने संशाेधित कार्यविधि अनुसार ७ सय ५३ जना कार्यकारी प्रमुखलाई याे व्यवस्था गरेका छाैं ।”, प्रवक्ता श्रेष्ठले भने । यसलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने भएकाले मन्त्रालय यस विषयमा गम्भीर रहेकाे उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठ

यति मात्र हाेइन, वैशाख १५ गतेकाे एक अाैपचारिक कार्यक्रममा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि वीर अस्पताल वरपर रहेका पसललाई हटाउने र बिक्रीमा प्रतिबन्ध लगाउने घाेषणा नै गर्नु भएकाे थियाे । तर सायद त्याे सस्ताे प्रचारबाजीका लागि पनि हाेला, हालसम्म कार्यान्वयन हुन सकेन ।

सूर्तिजन्य पदार्थमा लाग्ने करलाई ७० प्रतिशतसम्म पुर्‍याउन विश्व बैंक र विश्व स्वास्थ्य संगठनले सरकारलाई सुझाव दिंदै आएको छ । हाल यसमा सरकारले २८ प्रतिशत मात्र कर लगाएको छ । सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउनेमा नेपाल पर्छ । सबैभन्दा बढी बंगलादेशले ७७ प्रतिशत कर लगाएको छ ।

सूर्तिजन्य पदार्थको प्रयोग गर्नेमा मुटुसम्बन्धी रोग प्रकोप जस्तै देखा परेको छ । यसको प्रयोगले उच्च रक्तचाप बढ्नुका साथै मुटुको धमनीमा समेत असर गर्छ । सूर्तिजन्य पदार्थको प्रयोगले नसर्ने रोगलाई बढावा दिने गरेको चिकित्सक बताउँछन् । सूर्तिजन्य पदार्थको प्रयोगले पुरुषमा फोक्सो र पेटको क्यान्सर महिलामा पाठेघर, स्तन र फोक्सो क्यान्सर बढ्दै गएको छ ।

सूर्तिजन्य पदार्थको प्रयोगका कारण नेपालमा वर्षेनी २५ देखि ३० हजार मानिसको मृत्यु हुने गरेको छ । ५ मध्ये २ जना अरुले खाएको चुरोटको धूँवाबाट प्रभावित हुनु परेको छ । अंक र कानून जे भएपनि स्वास्थ्य संस्थाकै छेवैमा चुरोटको धूँवा मात्रै होइन, कानूनको पनि धज्जी उडेको छ । (तस्वीर: गुञ्जनराज गिरी)

shares