Breaking News

‘चौथो मनहरी महोत्सव २०७५’ अाजदेखि सुरु

भानुभक्त बिष्ट/हेटौंडा, २१ मंसिर । मकवानपुर जिल्लाको पश्चिमी भेगस्थित प्रमुख व्यापारिक केन्द्र मनहरी बजारमा ‘चौथो मनहरी महोत्सव’ सुरु भएको छ ।

‘कृषि, पर्यटन र व्यापार, ग्रामीण विकासको मूल अाधार’ भन्ने नारासहित अायोजित महोत्सवको उद्घाटन शुक्रबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् । मनहरी गाउँपालिकाको ८ नं वडा कार्यालयबाट महोत्सवस्थलसम्म झाँकीसहितको शोभायात्रा गरी अाज अौपचारिक शुभारम्भ गरिएको महोत्सवमा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा पनि सहभागी थिए ।

स्थानीय उत्पादन एवं सेवासँगै अान्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले अायोजित महोत्सव पुस २ गतेसम्म सञ्चालन गरिने अायोजक मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समिति मकवानपुरले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिइएको आयोजक समितिका सभापति गोविन्दप्रसाद रिजालले बताए । महोत्सवमा चेपाङ समुदायको जीवनशैली झल्कने घर तथा मिनी संग्रहालय ब्यवस्थापन गरिएको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ ।

महोत्सवमा २ सय ५० स्टलहरू राखिएका छन् । यस क्षेत्रको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाले आफ्ना उत्पादनहरूको प्रवर्द्धन गर्नका लागि स्टलहरूको व्यवस्थापन गरेका छन् । यस क्षेत्रबाट उत्पादन हुने मास, गहत, तेलहन तथा माछा र तामालाई प्रवर्द्धन हुने गरी महोत्सव सञ्चालन गर्न दिइएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । त्यस्तै गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकास्तरीय पञ्चेबाजा प्रतियोगिता गरिने पनि उनले बताए ।

साथै दैनिक रूपमा राष्ट्रिय एवम् स्थानीयस्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक तथा साँस्कृतिक प्रस्तुति, प्रतियोगितात्मक एवं विविध कार्यक्रम तथा बालबालिकाका लागि बाल उद्यानको व्यवस्था महोत्सवको प्रमुख अाकर्षण रहने पनि अायोजकले जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समिति मकवानपुरले अायोजना गरेको महोत्सवको संरक्षक मनहरी गाउँपालिकाको कार्यालय, प्रवर्द्धक मकवानपुर उद्योग वाणिज्य संघ रहेको छ भने सह-अायोजक राक्सिराङ्ग तथा कैलाश गाउँपालिका रहेका छन् ।

shares