Breaking News

दुईवटा अमेरिकी लडाकू विमान दुर्घटनाग्रस्त, ५ जना बेपत्ता

टोकियो, २० मंसिर । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरूले विमानमा सवार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् ।

आकाशमा एउटा लडाकू विमानमा अर्को सैनिक विमानबाट तेल भर्ने क्रममा दुवै विमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी मरिन कर्प्सका अनुसार एफए–१८ लडाकू विमान र तेल बोकेर आएको केसी–१३० सैनिक विमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा विमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ ।

अमेरिकी सैनिक अधिकारीहरूले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरूले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो ।

उक्त दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक विमान र पानी जहाजहरू पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरूले बताएका छन् ।

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकू विमान र नौसैनिक जहाजहरूको दुर्घटना हुनेक्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकू विमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकू विमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो ।

जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् जसमध्ये १८ हजारभन्दा बढी नौसेना रहेका छन् ।

shares