Breaking News

परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरे अनुदान सहायता उपलब्ध नगराइने

काठमाडौं, २० मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराएका छन् ।

२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वयन गर्न सचेत गराएका हुन् । अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिए ।

बिहीबार काठमाडौंमा आयोजित अन्तर-सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराए । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भइनसकेकाले सबै खालको वित्तीय सहायता हस्तान्तरण गर्न नसकिएको पनि दोहोर्‍याए । प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरू सहभागी रहेको परिषदको सो बैठकमा संघ र प्रदेश सरकारको हालसम्मको कामको पनि समीक्षा हुने अर्थ सचिव डा. राजन खनालले जानकारी दिए ।

shares