Breaking News

बालाचतुर्दशीमा शतबीज छरियो

काठमाडौं, २० मंसिर । बालाचतुर्दशीका दिन आज बिहानै रातभर देशभरका शिवालयमा महादीप बाली जाग्राम बसेका भक्तजनहरूले नदीमा स्नान गरी शतबीज छरेका छन् ।

मार्गशीर्ष कृष्ण चर्तुर्दशी समेत भनिने बाला चतुर्दशी पर्व बिहानै स्नान गरी पशुपतिलगायतका शिवालय क्षेत्रमा धानको सय गेडा छरे पितृले मोक्ष पाउने मान्यता रहिआएको छ ।

दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै बाला चतुर्दशीमा धान, मकै, गहुँ, हलेदो, कागुनो, जौलगायतका अन्नलाई शतबीजको रूपमा छर्ने गरिन्छ । यसै अवसर पारेर पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायतमा क्षेत्रमा आज बिहानैदेखि शतबीज छर्ने भक्तजनहरूको भीड लागेको थियो ।

यस वर्ष शतबीज छर्न आएका भक्तजनहरूलाई चिसो नहोस् भनेर पशुपति क्षेत्र विकास कोषले त्रिपालको समेत व्यवस्था गरेको थियो । विगतमा त्यस्तो व्यवस्था नहुँदा भक्तजनहरू चिसोले कठ्यांग्रिने गरेको थिए । सोही अवस्थालाई ध्यानमा राखेर यो वर्ष रातभर दीप बालेर जाग्राम बस्ने भक्तजनहरूलाई त्रिपालको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।

बाल चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनहरूले गुह्यश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन । शतबीज छरेर विधिपूर्वक चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समापन गर्ने गरिन्छ ।

shares