Breaking News

पोल्याण्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं, २० मंसिर । पोल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलनमा सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छन् ।

पोल्याण्डमा रहँदा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन संरचनासम्बन्धी सम्मेलनमा सम्बोधन गर्नुका साथै पोल्याण्डका समकक्षीसँग पनि द्वीपक्षीय भेटवार्ता गरेकी थिइन् । उनले जर्मनीको बर्लिनमा आयोजित गैरआवासीय नेपालीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेकी थिइन्।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरूलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अपर्णसमेत गरेको थियो ।

सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र केही सांसदको टोलीसहित गत शनिबार पोल्याण्ड प्रस्थान गरेकी थिइन् ।

shares