Breaking News

सरकारले गलत अर्थ नीति लिएको कांग्रेसको दाबी

ललितपुर, १९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गलत अर्थ नीति लिएको दाबी गरेको छ ।

केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको अर्थ नीतिसम्बन्धी प्रतिवेदनमा सरकारको अर्थनीति नै गलत रहेको भन्दै कांग्रेसले यसबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दाबी गरिएको छ ।

प्रतिवेदन पेश गर्दै कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले सरकारले ‘नियन्त्रण र निषेध’ मा आधारित अर्थ नीति लिएकाे आरोप लगाए । सरकारको गलत अर्थनीतिकै कारण गत वर्षको तुलनामा वैदेशिक लगानी ७५ प्रतिशतले कमी आएको कांग्रेसको दाबी छ ।

नेता महत नेतृत्वको समितिले केन्द्रीय कार्यसमितिमा पेश गरेको अर्थनीति सम्बन्धी प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ । वृद्धि गरिएको उत्पादनमार्फत् नागरिकलाई सम्पन्न बनाउने लक्ष्य प्रस्तुत अर्थ नीतिले लिएको नेता महतले जानकारी दिए । प्रजातान्त्रिक समाजवादी बाटोबाट नै मुलुकलाई समृद्ध बनाउन सकिने कांग्रेसको निष्कर्ष छ ।

मंसिर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले सो प्रतिवेदन तयार पारेको हो । पार्टी केन्द्रीय कार्यसमिति बैठकले पारित गरेपछि प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ ।

shares