Breaking News

प्रदेश १ योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले लिए सपथ

विजय घिमिरे/विराटनगर, १९ मंसिर ।

एक नम्बर प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले सपथ लिएका छन् । प्रदेश सरकारले बुधबार मुख्यमन्त्रीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सपथ दिलाएको हो ।

गत कार्तिक १४ गते बसेको प्रदेश मन्त्रिपरिषदले उपाध्यक्षमा सुबोध प्याकुरेल र सदस्यहरूमा पूर्ण लक्सम र मिना भण्डारीलाई नियुक्त गरेको थियो । उनीहरूलाई मुख्यमन्त्री शेरधन राइले सपथग्रहण गराएका थिए ।

मुख्यमन्त्री राईले कुनै मुलुकको इतिहासका पुस्तक पढेर नभई व्यवस्थित योजना बनाएर मात्र समृद्धि सम्भव रहेको बताए । अयोग गठन अगावै प्रदेश सरकारले योजना तर्जुमाको काम अगाडि बढाइसकेको समेत बताए । उनले संघीयताको मर्मलाई नबुझिकन ऐतिहासिक जिम्मेवारी बहन गर्न नसकिने धारणा राखे । उनले योजना आयोगका पदाधिकारीले त्यो भावनालाई बुझ्ने विश्वास व्यक्त गरे ।

प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष सुबोध प्याकुरेलले सरकारको योजना आनुसार आत्मनिर्भर प्रदेश १ बनाउन अाफूहरू तयार रहेको बताए । मानवअधिकारको लागि विकास एउटा सिक्काका दुईपाटा भएको उनले बताए ।

प्याकुरेलले सरकारले बजेट पठाउने, कर्मचारीले ठेक्का लगाउने र ठेकेदारले विकास गर्ने परिपाटी बदल्नु पर्ने बताए । उनले अबको युग विकास र प्रतिस्पर्धाको युग भएकोले त्यसै अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश १ का मुख्य सचिव केदार न्यौपानेले गरिबी घटाउने र रोजगारी सृजना गर्नु सरकारको मुख्य जिम्मेवारी भएको बताए । उनले विकासको लागि पर्खने समय नभएको र जनताले पनि नपर्खने बताए ।

सप्तरी जिल्लामा जन्मेर विराटनगर सरेका प्याकुरेल इन्सेकका केन्द्रीय अध्यक्ष हुन् । बैठकले आयोगको सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गर्ने निर्णय गरेको छ । मोरङको इटहरा स्थायी घर भएकी भण्डारी काठमाडौंमा बस्दै आएकी थिइन् । यसैगरी अर्का सदस्य लक्सम पाँचथर जिल्लाका हुन् । अर्थशास्त्र विषयमा विद्यावारीधि उनी हङकङ, लण्डन लगायतका देशमा काम गरिसकेका छन् ।

प्रदेश योजना आयोग पाँच सदस्य रहनेछ । बाँकी २ जना सदस्य नियुक्त गरिने मन्त्री कार्कीले बताए । आयोगका उपाध्यक्षले राज्यमन्त्री सरहको सेवा सुविधा पाउने छन् भने अन्य सदस्यहरूले सहायकमन्त्री सरहको सेवा सुविधा पाउनेछन् ।

shares