Breaking News

शहीद स्मारक ए डिभिजन लिग: अाजको खेलमा मनाङ, थ्री स्टार र च्यासल युथ क्लब विजयी

काठमाडौं, १९ मंसिर । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यस्तै आजै भएका अरु खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै मनाङ तालिकाको शीर्ष स्थानमा यथावत रहेको हो । लिगमा मनाङले खेलेको ६ वटै खेलमा जित हात पार्दै १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

मनाङको जितमा अञ्जन विष्टले पेनाल्टीमा गोल गरे । विदेशी खेलाडी अफिज ओलावललाई पेनाल्टी एरियामा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो ।

त्यस्तै अर्को खेलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबलाई २-१ ले हरायो । थ्री स्टारलाई जिताउन निराजन खड्का र रञ्जित धिमालले गोल गरे । सरस्वतीका लागि विदेशी खेलाडी भिक्टर अमोबीले चौथो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यो अग्रता जोगाउन नसक्दा सरस्वती पराजित भयो । यो जितसँगै थ्री स्टार १५ अंकका साथ दोश्रो स्थानमा उक्लिएको छ ।

आजकै अर्को खेलमा हिमालयन शेर्पालाई २-१ ले हराउँदै च्यासल युथ क्लब सातौँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङले पहिलो गोल गरे पनि निराजन बस्नेतले ७३ अौं मिनेटमा अात्मघाती गोल गरेपछि उसले नतिजा च्यासललाई सुम्पिएको हो । यसअघि च्यासलका सन्तोष साहुखलले ५६ अौं मिनेटमा गोल गरेका थिए ।

shares