Breaking News

चीन अमेरिकासँग भएको व्यापार प्रतिबद्धताहरू पूरा गर्न तयार

काठमाडौं, १९ मंसिर । चीनले करवृद्धिका योजनाहरू तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ ।

अर्जेन्टिनामा सम्पन्न जी-२० सम्मलेनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीयाँ राष्ट्रपति सी जिनपिङबीच अल्पकालीन सहमति भएको जनाइएको छ । तर सहमतिबारे विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा सार्वजनिक गरेपनि त्यसका बारेमा चीनले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । चीनको मौनताले गत सप्ताहान्तमा भएको सहमतिमा आशंका उत्पन्न गराएको छ ।

बुधबार चीनको बाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सहमति भएका विषयलाई चीनले तत्काल कार्यान्वयन गर्नेछ, र यो कार्य जति छिटो भयो त्यति राम्रो हुनेछ ।” तथापी मन्त्रालयको विज्ञप्तिमा सहमति भएका विषयहरू खुलाइएको छैन ।

shares