Breaking News

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत चारवटा उपसमिति गठन

काठमाडौं, १९ मंसिर । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चारवटा उपसमिति गठन गरेको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति, उपभोक्ता हित उपसमिति, श्रम र रोजगार उपसमिति र सार्वजनिक संस्थान उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ चारवटा उपसमिति गठन गरिएको समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवले जानकारी दिए ।

५-५ जना सदस्य रहने उपसमितिलाई आफ्नो कार्यविधि आफैं बनाउने कार्यादेश दिइएको छ । उपसमितिको म्याद बढीमा एक वर्ष तोक्ने निर्णय गरिएको पनि समितिका सभापति श्रीवास्तवले बताए । समितिले आ-आफ्नो क्षेत्रको स्थलगत अवलोकनसमेत गरी समितिमा प्रतिवेदन पेश गर्नेछ ।

बैठकमा समितिका सदस्यहरूले सरकार र संसदको कामलाई प्रभावकारी बनाउनेगरी उपसमिति गठन गर्नु पर्ने बताएका थिए । समितिका सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार र संसदको कामलाई प्रभावकारी बनाउन पनि समिति अन्तर्गत विभिन्न उपसमिति गठन गर्ने गरिएको स्पष्ट पारे ।

उपसमितिलाई आवश्यक अध्ययन, अनुसन्धान गरी समितिको कामलाई प्रभावकारी बनाउन पनि सचेत गराइएको छ ।

shares