Breaking News

प्रस्तावित राजदूतहरूकाे सुनुवाइ मंसिर २३ गते

काठमाडौं, १९ मंसिर । सरकारले विभिन्न चार देशका लागि प्रस्ताव गरेको राजदूतहरूकाे संसदीय सुनुवाइ आइतबार हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकले प्रस्तावित राजदूतहरूकाे सुनुवाइकाे मिति तय गरेको हो ।

सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्ण ढकाल र इजरायलका लागि अञ्जान शाक्यलाई राजदूत सिफारिस गरेको छ । संसदीय सुनुवाइका लागि सिफारिस भएका व्यक्तिहरूलाई २३ गते आइतबार बोलाउने निर्णय भएको संसदीय सनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

त्यसैगरी समितिको बैठकले शुक्रबार उजुरीकर्तासँग र पूर्व राजदुतहरूसँग राजदूतको योग्यता र क्षमताका सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको छ । एक जना उजुरीकर्ताको उजुरी समितिमा परेकाले शुक्रबार नै सो उजुरीका सम्बन्धमा पनि छलफल गर्न लागिएको समितिका सभापति कर्णले बताए ।

राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदूतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदूतहरूसँग पनि छलफल गर्ने निर्णय गरिएको पनि समितिले स्पष्ट पारेको छ । राजदूत नियुक्तिका आधार के कस्ता हुन सक्छन् ? यसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने सन्दर्भमा अभुवभी राजदूतहरूसँग छलफल गर्न लागेको सभापति कर्णले बताए ।

सरकारले सिफारिस गरेका चार राजदूतको उमेर हदमाथि प्रश्न उठाउँदै एक जनाको उजुरी परेको छ । राजदूत नियुक्तिका लागि कम्तीमा ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेमा अन्यथा भएको उजुरीमा उल्लेख गरिएको छ । संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका राजदूतहरूको योग्यता, क्षमता र कार्ययोजनाबारे सुनवाइ गरेपछि सो सिफारिस अनुमोदन गर्ने/नगर्ने निर्णय लिने संवैधानिक व्यवस्था छ ।

shares