Breaking News

संरचनाको अभावमा ठूला आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको अर्थमन्त्रीको भनाइ

काठमाडौं, १९ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले संरचनासमेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुने बित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना पनि अघि सारे ।

बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संवैधानिक व्यवस्था अनुसार सेवा प्रवाहको काममा प्रतिकूल असर पर्न नदिन पनि सरकारले प्रदेश र स्थानीय तहको वित्तीय व्यवस्थापनको कामलाई क्रमिक रूपमा हस्तान्तरण गर्दै लैजाने व्यवस्था गर्नु परेको पनि स्मरण गराए ।

बैठकमा समितिका सदस्यहरूले वित्तीय स्रोत किन प्रदेश र स्थानीय तहका लागि पर्याप्त व्यवस्था नगरेको भनी मन्त्री खतिवडालाई प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री खतिवडाले स्थानीय तह क्रमशः व्यवस्थित हुँदै जाने र त्यसपछि उनीहरूलाई सबै वित्तीय स्रोत हस्तान्तरण गर्ने सरकारको योजना रहेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले स्थानीय र प्रदेशमा देखिएको करसम्बन्धी विवाद समाधान गर्न आगामी आइतबार अन्तर सरकारी समन्वय परिषदको बैठक बोलाइएको पनि समितिलाई जानकारी गराए । उनले बैठकमा स्थानीय र प्रदेश सरकारको बजेट खर्चबारे पनि समीक्षा हुने बताए ।

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षभित्र संविधानले व्यवस्था गरे अनुसारका सबै वित्तीय स्रोत प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसक्ने दाबी पनि गरे ।

shares