Breaking News

भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाइ

काठमाडौं, १९ मंसिर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाइ भएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवनको सभा हलमा कुर्सी, माईकलगायतको मर्मत कार्य पूरा नभएकाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाइ हुन गएको प्रष्ट्याका हुन् ।

बुधबार सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा बिलम्व गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे ।

मन्त्री ढकालले पुस पहिलो साताभित्र प्रतिनिधिसभा भवन मर्मत संहार कार्य पूरा हुने र त्यसलगत्तै संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने पनि बताए । उनले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । मन्त्री ढकालले सरकार संसदलाई छलेर अध्यादेशमार्फत् कानून ल्याउने पक्षमा रहेको पनि बताए ।

मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेशनमा संविधानसँग बाझिएका कानून संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे पनि बताए । फागुन पहिलो हप्ताभित्र नयाँ संविधानसँग बाझिएका सबै कानून संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले संविधानसँग बाझिएका कानून संशोधन गर्ने कामलाई उच्च प्राथमिकता दिएको पनि उनले स्पष्ट पारे ।

आगामी हिउँदे अधिवेशनमा साझा सूचिसँग सम्बन्धित र संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री ढकालको योजना छ । उनले सरकार संविधानको भावना बमोजिम कानून निर्माणको कामलाई अघि बढाउन प्रतिबद्ध रहेकोे पनि बताए ।

shares