Breaking News

त्रिविमा तालाबन्दी हुँदा कामकाज प्रभावित

काठमाडौं, १९ मंसिर । सम्बन्धन दिइएको विषयको खारेजीको माग गर्दै त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा तालाबन्दी गरिएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् । ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बीसीए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपुर्‍याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवि एकाइका जगदिश भट्टले जानकारी दिए ।

विद्यार्थीहरूले यही मङ्सिर १६ गते तालाबन्दी गरेका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा वीसीएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका छन् । भट्टले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदिशकुमार पोखरेलले बताए ।

shares