Breaking News

इंग्लिस प्रिमियर लिगमा वाट्फोर्डलाई हराउँदै म्यान्चेष्टर सिटी विजयी

काठमाडौं, १९ मंसिर । इंग्लिस प्रिमियर लिगमा वाट्फोर्डलाई हराउँदै म्यान्चेष्टर सिटीले शीर्ष स्थानको पकड बलियो बनाएको छ ।

गएराती भएको खेलमा सिटीले वाट्फोर्डलाई २–१ ले हराउँदै दोस्रो स्थानको लिभरपुलविरुद्धको अग्रता ५ अंकमा लम्ब्यायो । वाट्फोर्डको मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेष्टर सिटीलाई जित दिलाउनका लागि लेरोई साने र रियाद मेहरेजले एक एक गोल गरे ।

४०औं मिनेटमा मेहरेजको क्रसमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा ग्याब्रियल जेससको पासमा मेहरेजले गोल गर्दै सिटीको अग्रता २–० मा लम्ब्याएका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा वाट्फोर्डले गोल फर्कायो । अब्दोलायले गोल लाइनमा ठूलो संघर्ष गर्दै बललाई जालीको दिशा दिए ।

बाँकी समयमा वार्टफोर्डले गोल गर्न नसकसेपछि सिटी विजयी भयो । सिटीले १५ खेलबाट ४१ अंक बनाएको छ । उसले लिभरपुलसँगको दूरी ५ अंक कायम राखेको छ । वाट्फोर्ड भने २० अंक सहित एघारौं स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत गएराती भएका अन्य खेलमा एएफसी बर्नमाउथले हठर्सफिल्ड टाउनलाई २–१ ले हरायो भने ब्राइटनले क्रिष्टल प्यालेसमाथि ३–१ को जित दर्ता गर्‍यो । यस्तै वेष्टह्यामले कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्‍यो ।

shares