Breaking News

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकाे घोषणा

काठमाडौं, १८ मंसिर । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण २०१९ जुन २८ देखि ३० सम्म हुने घोषाणा गरेको छ ।

वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने तेस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

महोत्सवमा चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसँग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरूको पनि आयोजना हुनेछन् ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरू, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघ संस्था र महोत्सवहरूसँगको सहकार्यमा आयोजना गरिनेछ ।

चलचित्रको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको अमेरिका कार्यालय ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने जनाइएको छ । नेपालका चलचित्रकमीहरूले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

आवेदन सम्बन्धीका विवरण तथा नियमहरू नेपाल—अमेरिका फिल्म सोसाइटीको वेभसाइटमा उपलब्ध छन् । महोत्सवसम्बन्धी थप प्रगति विवरणहरू तथा जानकारीका लागि सोसाइटीको सामाजिक सञ्जालमा जोडिन अाग्रह गरिएको छ ।

shares